चिकित्सकमा कोरोना संक्रमण भएपछि आम्दा मेची अस्पताल सिल
झापा, साउन २९ : आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ। मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै....

झापा, साउन २९ : आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ। मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ।
संक्रमित डाक्टरलाई अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेशनमा राखिएको छ।
मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको संक्रमण फेला परेको हो। केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो।
चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा कोरोना संक्रमण देखिएपछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर एक हप्ताका लागि नगरपालिकमा लकडाउन घोषणा गरेको छ।
नगरप्रमुख विमल आचार्यका अनुसार संक्रमितको सम्पर्कमा आएका र अन्य शंकास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिनेछ।











