१३औं सागका स्वर्ण विजेता २ पाकिस्तानी खेलाडी डोपिङमा असफल, पदक खोसियो, ४ वर्ष प्रतिबन्ध
काठमाडाैं, साउन २८ : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङमा असफल भएका छन्। विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले ....

काठमाडाैं, साउन २८ : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङमा असफल भएका छन्। विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले गरेको डोपिङ परीक्षणमा १३औं सागमा पाकिस्तानलाई एथ्लेट्क्सिमा स्वर्ण दिलाएका मोहम्मद नहिम र महबुब अली असफल भएका हुन्।
डोपिङमा असफल भएपछि दुवैको स्वर्ण पदक खोसिएको छ भने उनीहरुलाई ४ वर्ष प्रतिबन्ध लगाइएको छ। नेपालमा गत वर्ष सम्पन्न १३औं सागमा मोहम्मद नहिमले १ सय मिटर हर्डल्स र महबुब अली ४ सय मिटर हर्डल्समा स्वर्ण जितेका थिए।
स्याम्पल 'ए'मा असफल भएपछि दुवै खेलाडीले स्याम्पल 'बी' टेष्टको लागि आग्रह गरेका थिए। सोही अनुसार गरिएको स्याम्पल 'बी'मा पनि असफल भएपछि दुवैको स्वर्ण खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
उनीहरुले दुवैले प्रतिबन्धित औषधि सेवन गरेको स्वीकार गरेपछि वाडाले उनीहरुलाई ४ वर्ष प्रनिबन्ध पनि लगाएको छ। उनीहरुको प्रतिबन्ध २०१९ डिसेम्बर २ देखि सुरु भइ २०२३ डिसेम्बर २ सम्म रहने छन्।
यसैगरी १ सय मिटर दौडमा कांस्य जितेका सामी उल्लाह पनि डोपिङ परीक्षणमा असफल भएका छन्। स्याम्पल 'ए'मै असफल भएपछि उनले प्रतिबन्धित औषधि प्रयोग गरेको स्वीकारेका थिए। सोपछि सामी उल्लाहलाई पदक खोस्दै ४ वर्ष प्रतिबन्ध लगाइएको छ।
१३औं सागमा पाकिस्तानले ३० स्वर्णसहित १३२ पदक जितेका थियो। दुई स्वर्ण खोसिएपछि अब पाकिस्तानका नाममा ३० स्वर्णमात्र रहनेछ।











