नेपाल-भारतबीचको संवादहीनता तोडिँदै, अर्को साता छलफल
काठमाडौं, साउन २८ : नेपाल र भारतबीच आठ महिना लामो संवादहीनताको अवस्था तोडिने भएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको भूमि समेटेर नक्सा जारी गर....

काठमाडौं, साउन २८ : नेपाल र भारतबीच आठ महिना लामो संवादहीनताको अवस्था तोडिने भएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको भूमि समेटेर नक्सा जारी गरेपछि चिढिएको भारतले अर्काे साता नेपालसँग छलफल गर्ने भएको छ।
आठ महिना लामो संवादहीनताको अवस्था तोड्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीबीच परिस्थिति सहज बनाउने विषयमा संवाद हुने भएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार नेपाल भारतको सहयोगमा सञ्चालिन परियोजनाहरुको समीक्षा र अन्य विषयमा छलफलका लागि भारतले प्रस्ताव गरेको छ। 'नेपाल-भातरतको सहकार्यमा सञ्चालिन परियोजनाको समीक्षालगायतका विषयमा छलफलका लागि प्रस्ताव आएको छ मिति भने तय भएको छैन,' पौड्यालले काठमाडौं प्रेससँग भने।
अर्को साता भिडियो कन्फ्रेन्समार्फत छलफल हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले पनि लेखेका छन्। कोरोना भाइरसको महामारीका कारण प्रत्यक्ष बैठक भने नबस्ने जनाएको छ।
नेपालको भूमिमा भारतले बाटो निर्माण गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत क्वात्रालाई बोलाएर विमती जनाएका थिए। नक्सा जारी गरेपछि चिढिएको भारतसँग छलफल गर्न सरकारले चार पटक औपचारिक पत्र पठाएको थियो। तर छलफलका लागि भारत तयार भएको थिएन।
नेपाल र भारतका परियोजना निरीक्षणका लागि चार वर्षअघि दुबैपक्ष समेटेर संयन्त्र गठन भएको थियो। यसले दुई देशबीचको सीमाना, आर्थिक तथा विकासका परियोजनाबारे आवधिक समीक्षा गर्ने गरेको छ।
गत वर्ष जुलाईमा बसेको संयन्त्रको सातौं बैठकले रेल्वे, पेट्रोलियम पाइपलाइन, सडक, पुल, उर्जा, सिचाइँ तथा भूकम्पपछिको पुनर्निर्माणका विषयमा सहयोग कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेको थियो। यो पटक भने सीमा विवादका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।











