डोटीमा बस दुर्घटना, तीनको मृत्यु, ३२ घाइते
सिलगढी, साउन २८ : डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका....

सिलगढी, साउन २८ : डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कैलालीबाट अछाम लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेले घाइतेको उद्धार भइरहेको बताए। हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौं, घाइतेको संख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौं, उनले भने।
बस सडकबाट ३० मिटर तल खसेको छ। वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरी उपरीक्षक पाण्डेले बताए।











