रुकुमको सोती घटना : मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं, साउन २७ : सरकारले रुकुम पश्चिमको चौरजहारी घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जना युवाका परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ।
....
काठमाडौं, साउन २७ : सरकारले रुकुम पश्चिमको चौरजहारी घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जना युवाका परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका ६ जना युवाका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए।
प्रेमिकालाई लिन गएका जाजरकोटका ६ जना युवाको रुकुमको चौरजहारीस्थित सोती गाउँमा ज्यान गएको थियो। सरकारको यो निर्णयसँगै सोती घटनामा ज्यान गुमाएका नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीका परिवारले १०–१० लाख पाउने छन्।
गत जेठ १० गते जाजरकोटका नवराज विककी प्रेमिकालाई लिन गएका उनीहरुमाथि स्थानीयबासीले आक्रमण गरेका थिए।
यस्तै, मन्त्रिपरिषद् बैठकले सोती घटनामा घाइते भएकाहरुको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय पनि गरेको छ। उक्त घटनामा अन्य १२ जना घाइते भएका थिए।











