सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं, साउन २७ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै श्री कृष्ण जन्माष्ठमीको शुभकामना दिएका....

काठमाडौं, साउन २७ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै श्री कृष्ण जन्माष्ठमीको शुभकामना दिएका छन्।
सरकारले गरेको कोभिड– १९ रोकथाम तथा नियन्त्रण कार्यप्रति मति बिग्रिएकाहरुले आलोचना गरेको भन्दै उनले जन्माष्टमीको अवसरमा सरकारकाे आलाेचना गर्नेहरु सबैको मति सप्रिन शुभकामना दिएका हुन्।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आजको यो कृष्ण अष्टमीको दिन मति बिग्रिएकाहरूका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु। चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन्। सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुऱ्याउन सक्दैनन्।’
साथै, महामारीबाट बाँचिएमा सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै उनले कोरोनाविरुद्धको लडाइमा सरकारलाई सघाउन नेताहरुलाई आग्रह गरे।
‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ। किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन। पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन्,’ उनले भने,‘म्यान्डेटपछि त्यो खेलमा लाग्दाखेरि पनि केही बिग्रिँदैन। स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरूलाई पनि म आग्रह गर्न चाहन्छु, वेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन्। जनताको नजरमा हामी परीक्षामा नै छौं। सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौं।’
उनले कोरोना रोकथाममा लागेको सरकारको विभिन्न तरिकाबाट विरोध भएको बताए। कुनै समय पीपीई भएन भन्दै गीत गाएकाहरुले अब औषधि र भेन्टिलेटरका गीत गाउने उनले बताए। उनले जस्तोसुकै गीत गाएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने बताए।











