Kathmandu Press

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते 

काठमाडौं, साउन २७ : डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।....

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते 
फाइल

काठमाडौं, साउन २७ : डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार रहेका छन्। घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ । 

सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । 

घरभित्र च्यापिएका शवको प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ । घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई-तीन घण्टाको दूरीमा रहेको छ । घर भत्किएका कारण कम्तीमा पनि रु १० लाख बराबरको धनमालको क्षति भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । (रासस) 

प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्