Kathmandu Press

नेकपा विवाद : ओली-प्रचण्ड निष्क्रिय हुँदा नेपाल र खनाल सक्रिय

काठमाडाैं, साउन २६ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निष्क्रिय र....

नेकपा विवाद : ओली-प्रचण्ड निष्क्रिय हुँदा नेपाल र खनाल सक्रिय
फाइल

काठमाडाैं, साउन २६ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निष्क्रिय रहेका बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सक्रिय बनेका छन्।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै भेटघाट तथा छलफल अध्यक्षद्व ओली र प्रचण्डले भेटघाट स्थगित गरेका छन्। उनीहरुले आफू निकटका नेताहरुसँगै वान टू वान वार्ता समेत स्थगित गरेका छन्। यता वरिष्ठ नेताद्वय नेपाल र खनालले भने आन्तरिक भेटघाटलाई तीव्र बनाएका छन्।

नेता खनाल र नेपालले आफू निकटका नेताहरुलाई बोलाएर आन्तरिक छलफलमा जुटेका हुन्। सोमबार वरिष्ठ नेता नेपालले आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् भने नेता खनालले केही स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। 

नेता नेपालले केन्द्रीय कमिटीको सामना गर्नुको विकल्प ओलीसँग नरहेको बताएका छन्। 'पार्टीलाई विधिमा फर्काउनका लागि केन्द्रीय कमिटी बैठकको विकल्प छैन अध्यक्ष ओलीलाई जसरी पनि बैठकमा सहभागी गराउँछौँ। उहाँ बैठकमा उपस्थित भएको दुनियाँले देख्नेछ,' नेता नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेता गणेश पहाडीले काठमाडौंप्रेससँग भने।

नेपालसँग भेटका लागि स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित केन्द्रीय कमिटी सदस्यहरू ठाकुर गैरे,  विजय पौडेल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, राजेन्द्र राई, दिलु पन्त, यज्ञराज सुनुवारलगायत कोटेश्वर पुगेका थिए।

यस्तै, नेता खनालले पार्टीलाई विभाजनबाट जोगाउँदै विधिमा चल्नुपर्ने धारणा उपस्थित स्थायी कमिटी सदस्यहरुसँग राखेका थिए। पार्टी तथा सरकार सञ्चालनमा अध्यक्ष ओलीको व्यक्तिवादी चरित्र मौलाउँदै गएकाले त्यसलाई अन्त्य गर्नुपर्ने धारणा उनले राखेका थिए।

स्थायी कमिटीलाई निष्प्रभावी पार्ने काम गलत भएकाले अब छिट्टै बैठक राखेर पार्टीको विधान समाधान गर्नुपर्ने धारणा उनले राखेका थिए। 'स्थायी कमिटीलाई विवाद समाधानका सक्रिय बनाउनुपर्छ पार्टी र सरकार सञ्चालनमा मौलाउँदै गएको व्यक्तिवादी चरित्र अन्त्य हुनुपर्छ। नेकपाको एकता अक्षुण राख्नका लागि सबैले भूमिका निर्वाह गर्नुपर्छ,' खनालको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने।

नेकपाको एकता रक्षाका लागि भन्दै ६२ जना सांसदले हस्ताक्षर बुझाएको भोलिपल्ट वरिष्ठ नेताद्वय खनाल र नेपालले आफ्ना समूहका नेताहरुसँग परामर्श गरेका हुन्।
 

प्रकाशित मिति: २०:१८ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्