समुदाय–प्रहरी साझेदारी कार्यक्रमका लागि ७५१ तहसँग सम्झौता
काठमाडौं, चैत १२ : नेपाल प्रहरीले संचालन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म सात सय ५१ स्थानीय तहसँग सम्झौता ....
काठमाडौं, चैत १२ : नेपाल प्रहरीले संचालन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म सात सय ५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये सात सय ४० स्थानीयतहमा समिति पनि गठन भएको छ।
अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए।
पाँच महिनाअघि नेपाल प्रहरीले थालेको अभियानअन्तर्गत सात प्रदेशमा १६ हजारभन्दा बढी समिति निर्माण भएको सुवेदीले जानकारी दिए । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, सात सय ४० स्थानीय समिति, पाँच हजार दुई सय ९३ वडा समिति, चार हजार आठ सय ८८ टोल समिति र पाँच हजार आठ सय ७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ।
नागरिक समाज, स्थानीय सरकार, विभिन्न संघसंस्था, विद्यालयसमेतको सहभागितामा कार्यक्रम थालिएको छ । यसको मूल लक्ष्य सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने रहेको छ।
प्रहरीका अनुसार प्रदेश १ मा एक हजार दुई सय ७६, प्रदेश २ मा दुई हजार दुई सय ४८, प्रदेश ३ मा दुई हजार ८३, गण्डकी प्रदेशमा एक हजार सात सय ४२, प्रदेश ५ मा तीन हजार एक सय ६९, कर्णली प्रदेशमा दुई हजार तीन सय ८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार एक सय ९५ वटा समिति गठन भएका छन्।
कार्यक्रम सञ्चालनका लागि १० हजारभन्दा बढी प्रहरी कर्मचारीलाई प्रशिक्षण गराएर स्थानीय तहमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। (रासस)