Kathmandu Press

सप्तरीको तिलाठीमा एकै गाउँका ४२ जनामा कोरोना संक्रमण

सप्तरी, साउन २६ : भारतसँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको एकै गाउँका ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राजविराजस्थित ग....

सप्तरीको तिलाठीमा एकै गाउँका ४२ जनामा कोरोना संक्रमण

सप्तरी, साउन २६ : भारतसँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको एकै गाउँका ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया गाउँका ४२ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यो गाउँमा पाँच जनामा कोरोना देखिएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

नयाँ देखिएका संक्रमितमध्ये तीन जना महिला र ३९ जना पुरुष छन्। योसँगै तिलाठीमा संक्रमितको संख्या ८८ पुगेको उनले बताए। निमित्त प्रमुख यादवका अनुसार लौनिया गाउँमा समुदायमा संक्रमण देखिएको छ। अहिले कन्ट्याक्ट ट्रसिङ भइरहेको उनले बताए ।

यस अघि साउन १८ गते २५ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा पान पसले, चिया पसले, कपाल काटनेसहित सर्वसाधारण पनि रहेका थिए।

त्यसपछि गत साता उनीहरुको सम्पर्कमा आएका ७९ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरुमध्ये ४२ जनामा कोरोना देखिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले बताए।

लुकीछिपी भारत आवतजावत गर्नेहरुका कारण गाउँमा कोरोना फैलिएको गाउँपालिका अध्यक्ष अध्यक्ष सतिशकुमार सिंहले बताए। नजिकै रहेको भारतको कुनौली बजार आवतजावत हुने गरेको छ। भारतको आवतजावत रोक्न नसक्दा समुदायमा कोरोना फैलिएको उनको भनाइ छ।

कोरोना संक्रमितलाई गाउँपालिकाले सञ्चालन गरेको आइसोलेनस केन्द्रमा राखिएको छ। यस अघि स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो। संक्रमित बढेपछि त्यसैलाई आइसोलेसनका रुपमा प्रयोग गरिएको छ।

एउटै गाउँका ४२ जनामा संक्रमण देखिएपछि सिल गरिएको छ। स्थानीय वासिन्दालाई यताउता नजान आग्रह गरिएको अध्यक्ष सिंहले बताए।

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्