नास्टको ग्राउन्ड स्टेसनले लिन सकेन नेपाली भूउग्रहबाट सूचना
काठमाडौं, साउन २६ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएको ग्राउन्ड स्टेसन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको ....

काठमाडौं, साउन २६ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएको ग्राउन्ड स्टेसन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’बाट सूचना र जानकारी लिन सकेको छैन। नास्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा जानकारी लिन नसकेको हो।
नास्टले उचित रेडियो खरिद प्रक्रियामा लागिरहेकाले आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्वीर लिन ढिलाइ भएको प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए। 'हामीले नेपाली स्याट–१ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न सदस्य देशहरुसँग समन्वय गरी अघि बढिरहेका छौं। यो रेडियो उपकरण अन्य देशमा नरहेको तर अफ्रिकी मूलुकबाट ल्याउनुपर्ने भएको छ,' ढकालले भने। नास्टले भूटान, जापान, बङ्गलादेश आदिको भूउपग्रहसँग दैनिक समन्वय गरी सूचना र तस्वीर लिने काम गरिरहेको ढकालले बताए
नास्ट कार्यालयमा रहेको रेडियोले सूचना प्रवाह गर्न नसकेको, रेडियो संकेतमा फ्रिक्वेन्सी म्याचिङ नभएको र पुरानो ढाँचाको रेडियो आवश्यक भएको तर पुरानो ढाँचाको रेडियो उपकरण निर्माण बन्द भएकाले समस्या भइरहेको प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए।
‘नेपाली स्याट–१ ले केही समयअघि जापानबाट पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमा तस्वीर पनि कैद गरिसकेको बताइएको थियो। अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट १५ महिनाअघि नेपाली स्याट–१ का साथै श्रीलङ्काको भूउपग्रह ‘रावण–१’ र जापानको भू–उपग्रह ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो। ती भू–उपग्रह पृथ्वीबाट चार सय किलोमिटर माथि अन्तरिक्षमा रहेका छन्।
नेपाली स्याट–१ भू–उपग्रहबाट हरेक जानकारी हासिल गर्न पाँच मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ। नेपाल सरकारले सन् २०१७ देखि उक्त भू–उपग्रह निर्माणको योजना अघि बढाएको थियो।
२०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको नेपाली स्याट–१ ले करिब दुई महिनापछि असार २ गतेदेखि पृथ्वीको परिक्रमा शुरु गरेको थियो। पृथ्वीको परिक्रमा गर्नुपूर्व भूउपग्रह डेढ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रह्यो।
पहिलोपटक पृथ्वीमा छाडिएको दिन नास्टको कक्षमा जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा)ले प्रत्यक्ष प्रसारण गरेको थियो। नास्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए।
संयुक्त राष्ट्रसंघले भू–उपग्रह निर्माणका लागि स्पेस टेक्नोलोजी इञ्जिनीयरिङमा विद्यावारिधि गरेका आभाष मास्के र नेपालको इलेक्ट्रिकल तथा कम्युनिकेशन इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठलाई जापानको ‘वर्ड–थ्री’ परियोजनाअन्तर्गत छात्रवृत्तिसहित विभिन्न व्यवस्थापनमा सहयोग गरेको थियो। ‘नेपाली स्याट–१’ भू–उपग्रहमा नेपालको झण्डाका साथै नास्टको प्रतीकम चिह्न अङ्कित छ।
यो भू–उपग्रह प्रक्षेपण भएपछि पहिलो चरणमा भूटान अनि नेपाललाई जानकारी दिइएको नास्टका अन्तरिक्षयान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी गराएका थिए। तीनवटै भू–उपग्रह २० मिनेटको अन्तरमा नेपाल, श्रीलङ्का र जापान गरी क्रमैसँगै प्रक्षेपण भएका थिए।
एक किलो तीन सय ग्राम तौल तथा एक हजार घनत्व आकार भएको भू–उपग्रहमा ६ वटा ब्याट्री जडान गरी सूर्यको तापबाट चल्ने बनाइएको नास्टले जनाएको छ। (रासस)











