Kathmandu Press

नेकपा सांसदहरुको चिन्ता- नेतृत्वले पार्टीलाई खरानी बनाउने भए

काठमाडौं, साउन २५ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले पार्टीलाई विभाजनबाट रोक्न नेतृत्वलाई दबाब दिन हस्ताक्षर संकलन गरेका छन्। <....

नेकपा सांसदहरुको चिन्ता- नेतृत्वले पार्टीलाई खरानी बनाउने भए
फाइल

काठमाडौं, साउन २५ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले पार्टीलाई विभाजनबाट रोक्न नेतृत्वलाई दबाब दिन हस्ताक्षर संकलन गरेका छन्। 

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सांसदहरुले हस्ताक्षर सार्वजनिक गरेका हुन्। सांसदहरुले पार्टीको विवाद समाधानका लागि तत्काल महाधिवेशन गर्न र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई ध्यानाकर्षण गराएका छन्।

हस्ताक्षर सार्वजनिक कार्यक्रममा सांसद रामकुमारी झाँक्रीले अहिलेको नेतृत्वबाट पार्टी सुदृढभन्दा पनि खरानी हुने खतरा बढेको टिप्पणी गरेकी छिन्। उनले एकअर्काको विरोधमा लाग्नुको सट्टा पुस्ता हस्तान्तरण गर्नुपर्ने धारणा राखिन्।

'अहिलेका नेताहरूका गतिविधिले पार्टीलाई सुदृढ गराउने भन्दा पनि खरानी बनाउने हो कि भन्ने शंका बढेको छ,' झाँक्रीले भनिन्।

यस्तै, सांसद  सुरेशकार राईले शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न नसकिने भन्दै तत्काल महाधिवेशनको तयारी गर्नुपर्ने बताए।  

‘अहिले पार्टीमा देखिएको अन्तरविरोधले अन्योल बढेको छ भने पार्टी विग्रहमा जाने खतरा बढेको छ। शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न सकिन्न,' राईले भने। 

कार्यक्रममा सांसद विशाल भट्टराईले महामारीको अवस्थामा नेतृत्वबीच भएको पदीय झगडा असुहाउँदो भएको बताए। उनले नेतृत्वको कार्यशैली नसच्चिए नेकपाको आगामी संसदीय निर्वाचनमा निर्लज्ज अवस्था हुने भन्दै त्यसबाट जोगाउन अभियानको थालनी गरिएको बताए। 

अभियानमा ६१ जना सांसदले हस्ताक्षर बुझाएका छन् भने २० जनाले मौखिक समर्थन जनाएको अभियन्ता गणेश पहाडीले जानकारी दिए। 
 

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्