Kathmandu Press

सीसीएमसीलाई उपत्यका नगरपालिका मञ्चको सुझाव- नाकामा कडाइ गरौं

काठमाडौं, साउन २५ : उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश....

सीसीएमसीलाई उपत्यका नगरपालिका मञ्चको सुझाव- नाकामा कडाइ गरौं

काठमाडौं, साउन २५ : उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ। 

फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले रक्षामन्त्री पोखरेलसँग छलफल गरेका हुन्। 

आइतबार रक्षा मन्त्रालय भएको छलफलमा संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नु पर्ने सकारात्मक कदम लगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिए।

‘काठमाडौँ उपत्यका मुलुकको राजधानी समेत हो। यहाँको घनावस्तीयुक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाइ गर्न हामीले सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनु भएको छ। आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौं भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ।’
 
छलफलका क्रममा मञ्चका तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिए।

 ‘उपत्यकामा समूदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखेर सरकारको विरोध र समर्थनमा र्‍याली, भेला, अनशन, जुलुसलगायतका गतिविधिमा कडाइ गर्न पनि हामीले सुझाव दिएका छौँ,’ शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौँ। सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनशनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौँ।’

मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकीलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समुदायस्तरसम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गरेको जानकारी दिए। 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्