विद्युत प्राधिकरणले सुरू गर्यो स्मार्ट मिटर जडान
काठमाडौं, साउन २५ : नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका घरमा रहेका सिंगल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ।
ऊर्जा, जलस्....

काठमाडौं, साउन २५ : नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका घरमा रहेका सिंगल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिकाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुवात गरेका हुन्।
मुलुकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ। स्मार्ट मिटर जडानको सुरुआतसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ।
स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्नेछैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुनसक्ने भएकाले केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको केन्द्रबाटै अनलाइन काट्न सकिनेछ। मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ।
कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने भएकाले चोरी नियन्त्रणमा प्रभावकारी हुने जनाएको छ। स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ।
मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुआत एउटा कोशेढुंगा भएको बताए।
‘स्मार्ट मिटरको जडान मात्रै हैन, संघीय राजधानीलगायत मुलुकका मुख्यमुख्य शहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी शहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पनले भने।
प्राधिकरण दुई वर्षदेखि नाफामा रहेकाे उल्लेख गर्दै मन्त्री पुनले भने, ‘प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टी भएको छ।’ उनले मुलुक छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने बताए।
‘स्मार्ट मिटरमा हरेक घन्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिनेछ, साथै अब चाँडै वर्षायाममा बढी विद्युत उत्पादन हुँदै छ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिनेछ,’ उनले भने।
स्मार्ट मिटरमा पोस्ट पेड र प्रि पेड दुवै फङसन हुने हुँदा ग्राहकको इच्छाअनुसार पोस्ट पेड र प्रि पेड गर्न सकिने तथा ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्नेछन्।
प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे (टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्रि फेज होल करेन्ट मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ। यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन् भने ६० हजार मिटर जडान भइरहेका छन्। नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ।
स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिनेछ। यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ। यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ।
काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ।











