नेपालगञ्ज बजार सिल, निगरानी गर्न सेना परिचालन
बाँके, साउन २५ : कोरोना संक्रमण फैलिन थालेपछि नेपालगञ्जको मुख्य बजार क्षेत्र सिल गरिएको छ। सिल गरेको क्षेत्रमा निगरानी गर्न सेना परिचालन गरिएको छ।
....
बाँके, साउन २५ : कोरोना संक्रमण फैलिन थालेपछि नेपालगञ्जको मुख्य बजार क्षेत्र सिल गरिएको छ। सिल गरेको क्षेत्रमा निगरानी गर्न सेना परिचालन गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको मुख्य क्षेत्र सिल गरेको हो।
सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको प्रजिअ कुरुम्वाङले बताए।
यो क्षेत्रमा शनिबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्मका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। यस अघि निषेधाज्ञा जारी गरेको थियो। त्यसले काम नगरेपछि सिल गरिएको जनाएको छ।
जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा बजार क्षेत्र सिल गरेको हो। यो क्षेत्रको नेपलाी सेनाले निगरानी गर्ने जनाएको छ। सेनाको टोलीले सिल गरिएको क्षेत्रमा २४ घन्टा उच्च निगरानी बढाएको छ।
त्यस्तै, सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा खटिएका छन्।
यसैबीच नेपालगञ्जको भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ। गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो।
भेरी अस्पतालमा रुकुम पश्चिमको चौरजहारीकी महिलालाई बुधवार भेरी अस्पतालमा डेलिभरीका लागि भर्ना गरिएको थियो। गर्भवतीको महिना पुगिसकेकाले बिहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो।
शल्यक्रियाको तयारी गरेका वेला महिलालाई एक्कासि ज्वरो आएपछि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले बताए।











