कांग्रेसको प्रश्न- अनशनकारीका माग पूरा गर्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू?
काठमाडौं, साउन २३ : कोरोना परीक्षणको दायरा बढाउन माग राख्दै अनशन बसेका इनअफ इज इनअफका ईः सहितका अनशनकारीसँगको माग पूरा नगरेको भन्दै कांग्रेसले आ....

काठमाडौं, साउन २३ : कोरोना परीक्षणको दायरा बढाउन माग राख्दै अनशन बसेका इनअफ इज इनअफका ईः सहितका अनशनकारीसँगको माग पूरा नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी सरकारलाई प्रश्न सोधेका छन्, ‘न सत्ता मागेका छन् न भत्ता। अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू?’
शर्माले कोरोनाविरुद्धको संघर्षमा युद्धस्तरमा काम गर्न कांग्रेसले सुरुवातदेखि नै सुझाव र माग अघि सार्दै आएको स्मरण गराएका छन्।
‘पर्याप्त स्वास्थ्य सामग्री व्यवस्थापन र खरिदमा भएको भ्रष्टाचारमा कारबाही, समुदायस्तरमा व्यापक पीसीआर परीक्षण, आरडीटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन, कोभिड अस्पताल विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था। विदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्धार, सीमानाकामा कडाइ, बेरोजगार विद्यार्थीलाई राहत लगायतका माग सरकार समक्ष कांग्रेसले राखेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारी बोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग देखिएन।’
विभिन्न माग राखेर राजधानीमा युवाहरु आमरण अनशन बसेको र उनीहरुको माग विगतदेखि नै दल र संचारमाध्यमले उठाउँदै आएको शर्माले बताएका छन्।
‘सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्। तर अनशनमा बसेको २० दिन पूरा भइसक्दा पनि संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिुन अत्यन्तै दुःखद् छ,’ विज्ञप्तिमा भनिएको छ।
शर्माले कोरोनाबाट नेपाल र नेपाालीको रक्षा गर्न युद्धस्तरमा काम गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको बताएका छन्।
कांग्रेसले अनशनरत युवाहरुको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती समाना गर्ने ढंगले काम गर्न सरकारसँग माग गरेको छ।











