Kathmandu Press

चीनमा अर्को भाइरसकाे संक्रमण, सातको मृत्यु, ६० जना बिरामी

काठमाडौं, साउन २३ : विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनमा भने फेरि अर्को भाइरस देखिएको छ। यो भाइरसलाई टिक-बोर्न नाम दिइएको छ।

....
चीनमा अर्को भाइरसकाे संक्रमण, सातको मृत्यु, ६० जना बिरामी
एजेन्सी

काठमाडौं, साउन २३ : विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनमा भने फेरि अर्को भाइरस देखिएको छ। यो भाइरसलाई टिक-बोर्न नाम दिइएको छ।

यो भाइरसले उच्च ज्वरोसँगै थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम (एसएफटिएस) निम्त्याउने गरेको छ। भाइरसका कारण शुक्रबारसम्म चीनमा सात जनाको मृत्यु भएको छ भने ६० जनामा संक्रमण पुष्टि भएको छ।

सन् २०२० को सुरुवातमा पूर्वी चीनको जियाङ्सुमा यो भाइरसको संक्रमण देखिएको थियो। जसमा ३७ जनाभन्दा बढी मानिसमा एसएफटिएसको रिपोर्ट गरिएको थियो। त्यसपछि आनहुईमा गरिएको परीक्षणमा २३ जनामा टिक–बोर्न भाइरस संक्रमण पुष्टि भएको हो।

टिक नामक किराको टोकाइबाट मानिसमा सर्ने र पछि मानिसबाट मानिसमा सर्ने यो भाइरस सबैभन्दा पहिले सन् २००९ मा चीनको हुवेइ र हेनान प्रान्तको ग्रामीण क्षेत्रमा देखिएको थियो। टिक–बोर्न भाइरस संक्रमितमध्ये ३० प्रतिशतको मृत्यु हुने अन्वेषकहरुको अनुमान छ। अहिले देखिएको केसहरुमा पनि १६ देखि ३० प्रतिशत मानिसको मृत्यु भएको जनाएको छ।

यो भाइरसको संक्रमणमा उच्च मृत्युदर रहेको कारण विश्व स्वास्थ्य संगठनले पनि यसलाई प्राथमिकतामा रहेका १० रोगहरुमा सूचिकृत गरेको छ। किसान, शिकारी र घरपालुवा जनावर मालिकहरू विशेषगरी यो रोगको सिकार हुन्छन्।

उनीहरू नियमित रूपमा जनावरहरूको सम्पर्कमा आउने भएकाले हेमाफिसलिस लाँगोकोर्निस टिकको टोकाइबाट भाइरस सर्नसक्ने उच्च सम्भावना रहेको विज्ञहरु बताउँछन्।

टिक–बोर्न भाइरसका लक्षणहरु

सन् २०११ मा चीनमा गरिएको अध्ययनका अनुसार यो भाइरसबाट संक्रमित मानिसहरुले सामान्यतया सबै प्रकारका शारीरिक समस्याहरु अनुभव गर्दछन्। झाडा पखाला, वान्ता, टाउको दुख्ने, ज्वरो आउने, अत्यधिक जाडो महशुस हुने, पेट दुख्ने लगायतका समस्याहरु देखिनु यस भाइरसका लक्षणहरु हुन्।

टिक–बोर्न भाइरस संक्रमणको सुरुवाती चरणमा अत्याधिक ज्वरो, थ्रोम्बोसाइटोपेनिया वा कम प्लेटलेट काउन्टलगायतका लक्षणहरु देखिन्छन्। जसले शरीरमा सेतो रगतको कमि निम्त्याउँछ।

यस्तै, गम्भीर केसहरुमा बहु अंग विफलताको समेत समस्या निम्त्याउने विज्ञहरुले बताएका छन्।

(-एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्