Kathmandu Press

नदीमा बगेर तीन बालकसहित चार जना बेपत्ता

काठमाडौं, साउन २३ : नदीमा आएको बाढीले बगाएर गोरखा, म्याग्दी र डोटीमा तीन बालकसहित चार जना वेपत्ता भएका छन्।

गोरखाको दरौदी नदीले बगाएर पालुङट....

नदीमा बगेर तीन बालकसहित चार जना बेपत्ता
फाइल फाेटाे

काठमाडौं, साउन २३ : नदीमा आएको बाढीले बगाएर गोरखा, म्याग्दी र डोटीमा तीन बालकसहित चार जना वेपत्ता भएका छन्।

गोरखाको दरौदी नदीले बगाएर पालुङटार नगरपालिका–१ खुर्पाजुङका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए।

गोरखा नगरपालिका ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका थिए। फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जना बगेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।

बिहीबार दिउँसो बगेका दुवै जनाको खोजी भइरहेको छ। लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, डोटीको सेती नदीमा बगेर आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका १३ वर्षीय अर्जुन खडायत बेपत्ता भएका छन्। उनी पौडी खेल्ने क्रममा बिहबिार साँझ बेपत्ता भएका हुन्।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए। यो महिनामात्रै सेती नदीमा नुहाउने क्रममा बगेर पाँच जनाको ज्यान गएको छ।

यसैगरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५६ वर्षीया टीकामती परियार बेपत्ता भएकी छन्।

उनी घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी हुन। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए।

प्रकाशित मिति: १०:११ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्