अख्तियारका थप २० कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं, साउन २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयअन्तगृतको इ....

काठमाडौं, साउन २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयअन्तगृतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनाको कोरोना परीक्षण गर्दा २० जनामा पोजिटिभ देखिएको हो। उनीहरुको मंगलबार स्वाब संकलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए।
यसअघि अख्तियारका १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको थियो। कोरोना सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेको जनाएको छ।
यसैगरी मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरिएको थियो। उनीहरु कसैलाई पनि सङ्क्रमण नदेखिएको पौडेलले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो ।
अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो।
यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ। मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब सङ्कलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले बताए।
यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो।











