कोरोना हटस्पट : प्रदेश २ का शहरमा धमाधम निषेधाज्ञा
महोत्तरी, साउन २१ : लकडाउन हटेर आवागमन सहज बन्दै जाँदा प्रदेश २ मा भने कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। जसले गर्दा विभिन्न शहरमा निषेधाज्ञा जारी ग....

महोत्तरी, साउन २१ : लकडाउन हटेर आवागमन सहज बन्दै जाँदा प्रदेश २ मा भने कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। जसले गर्दा विभिन्न शहरमा निषेधाज्ञा जारी गरिएको छ।
लकडाउन हटेको साउन ७ गतेयता प्रदेश २ मा सात सय ८१ नयाँ सङ्क्रमित थपिएका छन्। साउन ६ गतेसम्म चार हजार दुई सय ६४ जना संक्रमित थिए भने बुधबारसम्म पाँच हजार ४५ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको हो।
प्रदेशमा बुधबारसम्म कोरोनबाट १९ जनाको मृत्यु भएको छ। मंगलबार राति मात्रै १८ वर्षीया किशोरीको ज्यान गएको छ।
साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएछन्। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ।
त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ। पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ।
त्यस्तै, सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ।
लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, भौतिक दूरीको ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञहरु बताउँछन्। प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन्।
यसैबीच प्रदेश २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकताअनुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।।
यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र पाँच सय शय्याको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवले बताए। अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु¥याइने मन्त्री यादवले बताए।
प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार दुई सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ। यद्यपि लकडाउन हटेयता त्यहाँ सङ्क्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए। रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र सङ्क्रमित बढेका छन्।
पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको सङ्क्रमण निकै बढेको छ। त्यहाँ यस अवधिमै तीन सय ९८ नयाँ सङ्क्रमित थपिएका छन्।
त्यसैगरी यसै अवधिमा सप्तरीमा एक सय ३६, धनुषामा एक सय २७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म महोत्तरीमा आठ सय ३८, धनुषामा सात सय ४१, सर्लाहीमा सात सय १२, पर्सामा पाँच सय ७५, सप्तरीमा पाँच सय २२, सिरहामा दुई सय १५ र बारामा एक सय ७८ सङ्क्रमण पुष्टि भएको छ।
लकडाउन हटेयताको अवधिमा कम सङ्क्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन्। यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशभित्र हालसम्म ६२ हजार दुई सय ८८ जनाको स्वाब परीक्षण गरिएको छ। यसमा ५४ हजार सात सय पाँच जनाको जाँच नतिजा नेगेटिभ छ। प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार पाँच सय ३८ छन्।
प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार दुई सय ११ पुगेको छ। अहिले दुई हजार दुई सय ३७ आइसोलेसनमा छन्। यिनमा ६ सय ८० जनाको उपचार हुँदै छ। तीमध्ये तीन सय ६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ। (रासस)











