Kathmandu Press

प्रधानमन्त्रीलाई देउवाले भने- अब सबैलाई मुख छोपेर हिँड्न बाध्य पारौं

काठमाडाैं, साउन २० : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सल्लाह मागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी....

प्रधानमन्त्रीलाई देउवाले भने- अब सबैलाई मुख छोपेर हिँड्न बाध्य पारौं

काठमाडाैं, साउन २० : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सल्लाह मागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता  शेरबहादुर देउवाले सबैलाई मुख छोपेर हिँड्न बाध्य बनाउनु पर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा सभापति देउवाले मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न  कडा नियम बनाउनुपर्ने सुझाव दिएका हुन्। साथै उनले प्रधानमन्त्री ओलीलाई समुदायमा कोरोना संक्रमणको अवस्था यकिन गरेर मात्रै लकडाउनको निर्णय गर्न सुझाव दिएका थिए।

'समुदायमा संक्रमणको अवस्था यकिन गरेर मात्रै लकडाउनको निर्णय गर्नुस्, सरकारले अब सामाजिक दूरीको पालना र मास्कको अनिवार्य प्रयोगको नियमलाई कडा बनाउँदै सबैलाई मुख छोपेर हिँड्न बाध्य बनाउनुपर्‍यो,' देउवाले बैठकमा राखेका धारणा उद्धृत गर्दै प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइँले भने।

बैठकमा सभापति देउवाले सात बुँदे माग समेत प्रस्तुत गरेका थिए। स्वास्थ्य सामग्रीमा भएको अनियमितता संलग्नलाई कारबाही हुनुपर्ने, आरडिटी परीक्षणको अन्त्य हुनुपर्ने, स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्धन हुनुपर्ने माग प्रधानमन्त्री समक्ष पेश गरेका थिए। यस्तै, उनले उच्च जोखिम र मध्यजोखिम क्षेत्रको पहिचान गरी सोही अनुरुप लकडाउनको मोडालिटी बनाउन समेत माग गरेका थिए। 

छलफलमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रुपमा नलिन सबैलाई आग्रह गरेका थिए। कोरोना नियन्त्रणका लागि सरकारको मात्र भूमिका नरहेको भन्दै उनले जनस्तरमा आवश्यक सतर्कता र सजगता अपनाउँदै सरकारको कोरोना रोकथामको प्रयासलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए। 

'यो संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ । यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध। कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध यो काम अन्त्य हुनुपर्छ,'प्रधानमन्त्रीले भनेका छन्। उनले सबैलाई सामाजिक अनुशासनमा बस्न अनुरोध समेत गरेका छन्। 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाइँले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरेको जानकारी गराएका थिए। पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको तथ्याङ्क उनले पेश गरेका थिए।

हालसम्म चार लाख मानिसको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको उनको भनाइ थियो।
 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्