सप्तरी र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा
काठमाडौं, साउन २० : कोरोना सङ्क्रमणको जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी जिल्लाभरि र धनुषाको ....

काठमाडौं, साउन २० : कोरोना सङ्क्रमणको जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी जिल्लाभरि र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा भित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिँडडुल, आवतजावत गर्न पाइँने छैन ।
त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा
धनुषाको जनकपुरधाम उपमहानगरपालिका भित्र गएराति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।











