Kathmandu Press

दुर्घटनापछि मेलम्ची आयोजना समस्यामा, स्पेनिस विज्ञ डाकेर रिभ्यु गरिँदै  

काठमाडौं, साउन १९ : मेलम्ची खानेपानी आयोजनाको सबै संरचनाको रिभ्यु सुरु गरिएको छ। सुरूङ मार्ग परीक्षणका क्रममा गेट भत्किएर दुई जनाको ज्यान जानेगरी दुर्....

दुर्घटनापछि मेलम्ची आयोजना समस्यामा, स्पेनिस विज्ञ डाकेर रिभ्यु गरिँदै  

काठमाडौं, साउन १९ : मेलम्ची खानेपानी आयोजनाको सबै संरचनाको रिभ्यु सुरु गरिएको छ। सुरूङ मार्ग परीक्षणका क्रममा गेट भत्किएर दुई जनाको ज्यान जानेगरी दुर्घटना भएपछि आयोजनाका सम्पूर्ण संरचनाको रिभ्यु थालिएको हो। 

‘गेट भत्किएर दुर्घटना भएपछि सबै संरचनाको रिभ्यु गर्न लागेका हौं,’ आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले भने, ‘आयोजनाको परामर्शदाता कम्पनी स्पेनको इप्टिसाले सुरुङमार्गमा बनेका संरचना रिभ्यु गर्न लागेको हो।’ 

खत्रीले कन्सेप्ट डिजाइन भन्दा फरक तरिकाले ढोका बनाइएका कारण दुर्घटना भएको हुन सक्ने बताए। डिजाइन कन्सेप्टमा ढोका भित्रबाट खोल्ने उल्लेख थियो। तर, निर्माण गर्दा बाहिरबाट खोल्ने बनाइएको छ। ‘भित्रैबाट खोल्ने, लगाउने गर्दा मानिस बाहिर निस्कने अवस्था रहन्न,’ उनले भने, ‘डिजाइन कन्सेप्ट र निर्माण गर्दा त्रुटी देखिएकाले रिभ्यु भइरहेको छ।’

केही दिन भित्रै रिभ्युको काम सकिने आयोजनाले जनाएको छ। दुर्घटनाको छानबिनका लागि बनेको समितिले ढोका निर्माणमा गम्भीर त्रुटी औलाएको छ। सोही कारण परामर्शदर्ताले डकुमेन्ट र फिल्ड दुवैमा रिभ्यु गर्न लागेको खत्रीको भनाइ छ। 

रिभ्युपश्चात देखिएको त्रुटी समधान गर्नेगरी मर्मत हुनेछ। ‘रिभ्युपछि के देखिन्छ, देखिएका त्रुटी समधानका लागि मर्मत सम्भार गर्नेछौं,’ खत्रीले भने, ‘भदौसम्म मर्मतको काम सकिन्छ। त्यसपछि पुनः सुरूङ परीक्षणको काम सुरु गर्नेछौं।’ 

त्रुटीपूर्ण ढंगले जोडिएका ढोका अहिले निकालिएको छ। रिभ्युपछि परामर्श दाताले दिएको रिपोर्टका आधारमा ती ढोका जडान हुनेछन्। 

नट–बोल्ट र गेटभित्रबाट खोल्न मिल्ने गरि गेटको डिजाइन गरिएको थियो। तर बाहिरबाट खोल्ने र नट–बोल्ट कस्न मिल्ने गरि निर्माण गरिएको छ। तर, अब भने गेट भित्रपट्टी खुल्ने भएपनि बाहिरबाट नट–बोल्ट खोल्न मिल्ने गरि बनाइने खत्रिले बताए। ‘रिभ्युको रिपोर्ट हेरेर गेट भित्रबाट खुल्ने र बाहिरबाट नट बोल्ट खोल्न मिल्नेगरी गेट जडान गर्ने गरी डिजाइन तयार हुनेछ,’ खत्रीले भने। 

दुर्घटनापछि सुरुङ मार्गतर्फका सबैकाम ठप्प छन्। जसका कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म पानी खसाल्ने योजनासमेत पर धकेलिएको छ। भदौसम्म ढोका जडानको काम सकिने र सुरुङ परीक्षण थालिने खत्रीले बताए। सुरूङ परीक्षणका लागि दुई महिना समय लाग्नेछ। खत्रीले सन् २०२० भित्रै सुन्दरीजलमा मेलम्चीको पानी खसाल्ने दाबी समेत गरे। ‘दुर्घटनाले हाम्रो योजनालाई पर धकेल्यो। तर, २०२० भित्रै सुन्दरीजलमा पानी खसाल्ने छौं,’ उनले भने। 

अहिले आयोजनाको हेडवर्कस तर्फको काम भने भइरहेको छ। ‘हेडवर्कस निर्माणको काम जारी छ। अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘तोकिएकै समयमा सम्पन्न गर्नेगरी काम भइरहेको छ।’

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्