पहिराेले बागलुङका १३ परिवार विस्थापित
बागलुङ, साउन १८ : बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन्। पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउ....
बागलुङ, साउन १८ : बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन्। पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लकाघरमा आंशिक क्षति भएको छ।
पहिरोले खारा बजारका अन्य सात घर पनि कारण उच्च जोखिममा छन्। वर्षा हुनासाथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन्। जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने र पुरिने जोखिममा भएपछि नौ घरपरिवार विस्थापित भएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए। 'प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ,' वडाध्यक्ष मल्लले भने, 'जोखिमपछि पूर्ववत् सजगता अपनाउनुपर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिकस्थलमा बस्न भनेका छौं।'
निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिरोले पनि स्थानीय आजित छन्। यता ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएको छ। पहिरोका कारण चार घर उच्च जोखिममा परेका छन्। शनिबार बिहान खसेको पहिराले स्थानीय काली विक, पोप्ची विक, बाँबरी विक र रोशन विकका घर जोखिममा परेका हुन्। अहिले विस्थापित परिवार छिमेकीका सहयोगमा आश्रयमा लिएर बसेका छन्।
अलि ठूलो वर्षा हुनसाथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए। पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ –ढोरपाटन खण्ड अवरुद्ध भएको छ। 'अहिले गाउँगाउँ, टोलटोल र घरघरमा सडक पुर्याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ,' उनले भने, 'अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ।'