सैनिकको कुटपिटबाट ज्यान गुमाएका राजकुमारको शव परिवारले बुझ्यो
चितवन, साउन १८ : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि न्यान गुमाएका राजकुमार चेपाङको शव परिवारले बुझेको छ।
पू....

चितवन, साउन १८ : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि न्यान गुमाएका राजकुमार चेपाङको शव परिवारले बुझेको छ।
पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमारको शव शनिबार साँझ काठमाडौंबाट बुझेर आइतबार बिहान चितवन ल्याइएको हो।
नेपाल चेपाङ संघका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको हो।
मृत्युपछि राजकुमारको शव परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा लगिएको थियो।
सर्वपक्षीय बैठकले चेपाङलाई कूटपिट गर्नेलाई कानूनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने पहिलो निर्णय गरेको छ। बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने र शव परिवारले बुझि अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए।
यही साउन १ गते राप्ती नदीमा माछामार्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवानले कूटपिट गरेको परिवारको आरोप छ। कूटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि यही साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो। मृत्युपछि परिवारले शव बुझ्न अस्वीकार गरेका थिए।
मृतक राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

