बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा
राँझा, साउन १८ : समुदायस्तरमै कोरोना देखिएपछि बाँकेमा जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ। नेपालगञ्जमा सरकारी कार्यालय र समुदा....

राँझा, साउन १८ : समुदायस्तरमै कोरोना देखिएपछि बाँकेमा जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ। नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा संक्रमण पुष्टि भएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमण रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। उनका अनुसार अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ। प्रशासनको आग्रहलाई अटेरी गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ।
निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ। त्यसैगरी एम्बुलेन्स, शव बाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन्।
पछिल्लो पटक संक्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ। कन्ट्याक ट्रेसिङ गर्दै समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ।
आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवन चोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपालगञ्जका तीन आइसोलेशन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा गरी बाँकेका ५४ जना संक्रमितलाई राखिएको छ। बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३७ पुगेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

