अधिवेशन गर्नु पर्ने भ्रातृ संगठनको म्याद थप्नु निर्लज्ज काम : पौडेल
काठमाडाैं, साउन १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका भातृ संगठनका म्याद थप गरिएको प्रति आपत्ति जनाएका छन्।
....
काठमाडाैं, साउन १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका भातृ संगठनका म्याद थप गरिएको प्रति आपत्ति जनाएका छन्।
शनिबार प्रेस नोट जारी गरी वरिष्ठ नेता पाैडेलले सभापति शेरबहादुर देउवाले भातृ संगठनका म्याद थप गरेर लोकतन्त्रको धज्जी उडाएको भन्दै आपत्ति जनाएका हुन्।
निहित स्वार्थका लागि पटक-पटक अधिवेशन स्थगित गराउँदै ल्याएर भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकी राख्ने काम सभापति देउवाले गरेको पाैडेलको आरोप छ।
'निहित स्वार्थका लागि पटक-पटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकी राख्ने , त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ-नौ वटा भातृ संस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदैछ। लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू ! गम्भीर हुनुहोस् !,' नेता पौडलले भनेका छन्।
सभापति देउवाले शुक्रबार नेपाल विद्यार्थी संघ, तरुण दल, किसान संघसहित ९ भातृ संगठनको म्याद थप गरेका थिए।











