कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाऔं : राष्ट्रपति भण्डारी
काठमाडौं, साउन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्....

काठमाडौं, साउन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् ।
उनले मुस्लिम धर्मावलम्बीले यस पर्वका दिन सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छिन् ।
कोभिड–१९ महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको यस कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउने आशा गर्दै राष्ट्रपति भण्डारीले बकर इद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा आह्वान गरेका छन् । (रासस)











