नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता: अध्यक्ष दाहाल
काठमाडौं, साउन १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन,....

काठमाडौं, साउन १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवम् सम्मानको अवस्था नै सांस्कृतिक विविधता भएको बताएका छन् ।
मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिदैं उनले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र नेपालको संविधानले नै बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका हुन् ।
समाजमा विकसित भएका सामाजिक मूल्यमान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, “पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।”
नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको तथ्य पेश गर्दै उनले जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण भएको बताए । (रासस)











