Kathmandu Press

आज इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद, घरमै नमाज पढ्न आग्रह 

काठमाडौं, साउन १७ : इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल अजहा) मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमज....

आज इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद, घरमै नमाज पढ्न आग्रह 

काठमाडौं, साउन १७ : इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल अजहा) मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । 

धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएन । अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । 

कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । शनिबार पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारीमा जुटेका छन् ।


घरमै नमाज पढ्न आग्रह

कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन् । 

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरिएको हो । कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरुपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । 

इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ । (रासस) 

प्रकाशित मिति: ०७:२५ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्