हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भयो : रक्षामन्त्री पोखरेल
काठमाडाैं, साउन १६ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रालयका कर्मचारीको कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरे....

काठमाडाैं, साउन १६ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रालयका कर्मचारीको कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन्।
शुक्रबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसके सोचेजस्तो परिमाण आउन नसक्ने बताएका हुन्। अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर अगाडी बढ्नुपर्ने उनको भनाइ थियो।
‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो। क्रिएटिभ ढंगले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन,'उनले भने, 'क्रिएटिभ ढंगले जान अहिलेको आवश्यकता हो।'
बैठकमा सहभागी अन्य मन्त्रालय र निकायमा प्रतिनिधिलाई पनि सोही भावनाका साथ कार्यक्षेत्रमा औपचारिकता नभई परिणामका लागि एकीकृत समन्वय गर्न उनले आग्रह गरे। 'औपचारिक पत्राचार वा जिम्मेवारी पर सारिनु विभागीयवाद (डिपार्टमेन्ट्लालिज्म) हो। यो लकिरको फकिर हुनु हो। यसरी हुँदैन। सम्बन्धित निकाय र प्रतिनिधिबीच भर्टिकल मात्र होइन होरिजेन्टल पनि सम्बन्ध हुनुपर्छ,'उनले भने।
बैठकमा आमन्त्रित गरिएकामध्ये केही मन्त्रालयका प्रतिनिधि उपस्थित नभएका विषयमा पनि गम्भीर चासो व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले रक्षा मन्त्रालयका सम्बन्धित कर्मचारीलाई ध्यानाकर्षण गराएका थिए।











