Kathmandu Press

वीरगञ्जमा एक महिनामा एक हजार कोरोना संक्रमित थपिने प्रक्षेपण

काठमाडौं, साउन १६ : कोरोना भाइरसको इपिसेन्टर बनेको पर्साको वीरगञ्जमा आगामी एक महिनामा एक हजारभन्दा बढी कोरोना संक्रमित भेटिने प्रक्षेपण गरिएको छ।

....
वीरगञ्जमा एक महिनामा एक हजार कोरोना संक्रमित थपिने प्रक्षेपण

काठमाडौं, साउन १६ : कोरोना भाइरसको इपिसेन्टर बनेको पर्साको वीरगञ्जमा आगामी एक महिनामा एक हजारभन्दा बढी कोरोना संक्रमित भेटिने प्रक्षेपण गरिएको छ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयराज सिंहले एक महिनाको अवधिमा एक हजारभन्दा बढीमा संक्रमण हुने र करिब पाँच सय जनामा लक्षणसहितको संक्रमण देखिने प्रक्षेपण गरिएको बताए।

‘अहिले दैनिक तीनदेखि पाँच सयको परीक्षण भइरहेको छ। १० हजार परीक्षण गर्दा एक हजारमा संक्रमण पुष्टि हुने देखिएको छ,’ सिंहले भने,  ‘तीमध्ये तीन सयदेखि पाँच सयमा लक्षण देखिने सम्भावना छ।’
 
साउन यतामात्रै दुई सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। तीमध्ये ६० प्रतिशतमा लक्षण पनि देखिएको छ। साउन यतामात्रै वीरगञ्जमा १० जना संक्रमितको ज्यान गइसकेको छ।  संक्रमितको संख्या बढ्दै जान थालेपछि सय बेड क्षमताको निजी अस्पताललाई कोभिड अस्पताल बनाउन लागिएको पनि डा. सिंहले जानकारी दिए।

‘केन्द्र सरकारलाई पटक–पटक आग्रह गरेपछि बिहीबार मात्रै एक निजी अस्पताललाई कोभिड अस्पताल बनाएर सञ्चालनमा ल्याउन अनुमति प्राप्त भएको छ,’ उनले भने, ‘वीरगञ्ज हेल्थ केयरलाई नारायणी अस्पतालले नै सञ्चालनमा ल्याउने टुंगो लागेको छ।’ 

तर, निजी अस्पताल सञ्चालनमा ल्याउने टुंगो लागे पनि जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन। नारायणी अस्पतालले जनशक्ति व्यस्थापन गर्न वीरगञ्ज हल्थ केयरलाई आग्रह गरेको छ।

‘हाम्रो अस्पतालका २८ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ। उहाँहरुमा समेत लक्षण देखिएको छ,’ सिंहले भने,  ‘एउटै अस्पतालले तीन वटा अस्पताल सञ्चालन गरेर जनशक्ति व्यवस्थापन गर्न गाह्रो हुन्छ। वीरगञ्ज मेडिकेयरले नै व्यवस्थापन गरिदिए सहज हुने थियो।’

डा. सिंहले भोलि (शनिबार)बाट निजी अस्पताल कोभिड अस्पतालका रुपमा सञ्चालनमा आउन सक्ने बताए।  वीरगञ्ज हेल्थ केयर अस्पताल मात्रै होइन नारायणी अस्पताललाई समेत पूर्ण कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि नारायणी अस्पतालले ५० बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो।

तर, विगत पाँच दिनयता अस्थायी अस्पतालमा श्यया अभाव भएको छ। ‘अहिले कोभिड अस्थायी अस्पतालमा ६० जनाभन्दा बढीलाई राखेर उपचार गरिरहेका छौं,’ उनले भने, ‘अब केही सहज होला।’  

वीरगञ्जमा नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर र अस्थायी अस्पताल गरेर कोभिड संक्रमितका लागि ३०० सय श्यया उपलब्ध हुने छ। कोरोना संक्रमित बढेपछि अहिले वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्