हवल्दारसहित चार प्रहरी निलम्बित
हेटौंडा, साउन १६ : प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले प्रहरी हवल्दारसहित चार प्रहरीलाई निलम्बन गर....
हेटौंडा, साउन १६ : प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले प्रहरी हवल्दारसहित चार प्रहरीलाई निलम्बन गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा समातिएपछि चार प्रहरीलाई निलम्बन गरिएको हो। यसअघि सेवाग्राहीसँग १२ हजार घुस लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारबाही गरिएको थियो।
निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेका छन्।
प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको कामलाई पारदर्शी र अनुशासित बनाउन विशेष अभियान शुरु गरेको प्रदेश प्रहरी कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताए। (रासस)