'जातको प्रश्न' अब राजेश हमालले सोध्ने
काठमाडौं, साउन १५ : जातीय विभेदलाई केन्द्रमा राखेर अभिनेता राजेश हमालको प्रस्तुतिमा ‘जातको प्रश्न’ नामक बहस कार्यक्रम सुरु हुने भएको ....

काठमाडौं, साउन १५ : जातीय विभेदलाई केन्द्रमा राखेर अभिनेता राजेश हमालको प्रस्तुतिमा ‘जातको प्रश्न’ नामक बहस कार्यक्रम सुरु हुने भएको छ।
आगामी शनिबारदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रम अभिनेता हमालले संचालन गर्ने भएका छन्। समता फाउण्डेशनले उत्पादन गर्ने उक्त कार्यक्रममा अभिनेता हमालले विभिन्न क्षेत्रका मानिसहरुसँग जातका विषयमा बहस गर्ने बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे र राति १० : ३० बजे उक्त कार्यक्रम प्रशारण हुनेछ। जातको प्रश्नकी निर्देशक शान्ता नेपालीले सुरुका १२ वटा कार्यक्रममा ६ वटा विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने बताइन्। समाजमा जातको आधारमा भइरहेका विभेद आफूलाई चित्त नबुझेर यो कार्यक्रमको प्रस्तोता बनेको हमालले बताए।
‘हाम्रो संस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथामध्ये सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव हो। यो विभेद मात्रै होइन, क्रुर अमानवीय व्यवहार हो,’ हमालले पत्रकार सम्मेलनमा भने, ‘यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनै पर्छ। यो कार्यक्रमको मुख्य उद्देश्य यही हो।’
समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियाले हालै रुकुममा ६ जना युवाको ज्यान लिने गरी भएको जातीय विभेदको घटना भएपछि जातका विषयमा थप छलफल आवश्यक भएको महशुस गरेर ‘जातको प्रश्न’ कार्यक्रमको योजना बनाएको बताए।
‘नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ। तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनु पर्छ भन्ने कुरा कमै मानिसले सोच्छन्’ परियारले भने, ‘परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो। रुकुमको घटमा जुन बर्बरता भयो, जातको जातोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो। त्यसका पछाडि यसमा थप बहस र प्रश्नहरु उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो। त्यसपछि यो कार्यक्रमको योजना बनेको हो।’
उनले जातको विषयमा हरेक परिवारमा बहस र छलफल होस् भन्ने उद्देश्यले कार्यक्रम सिर्जना गरेको पनि बताए। ‘धेरैलाई के लाग्छ भने यो दलितहरुको समस्या हो। उनीहरुले भोग्दै आएका छन् तर यो हामी सबैको समस्या हो। अझ यो गैरदलितको समस्या हो किनभने यो उनीहरुले गरिरहेका छन्,’ परियारले भने, ‘नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्याउनका लागि राजेश हमाल उपयुक्त लागेका कारण प्रस्तोतामा लिएका हौँ।’
कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्यूनीकरण होस् भन्नका लागि यो अयिभानमा साथ दिएको बताए। ‘मेरो बुबाले शेर्पासँग बिहे गर्नु भएको थियो। मेरो आमा शेर्पा भएको कारणले क्षेत्रीको चुलोमा गएर काम गर्न पाउनु भएन। वर्षौं पश्चात जातभात केही हुँदैन रहेछ भनेर हजुरआमाले आमालाई भान्सामा जान दिनुभयो। योभन्दा हामी छक्क पर्यौं। त्यो कुरा सानै हुँदा मैले देखें। त्यो देखेका र भोगेका कुराहरु अबको पुस्ताले भोग्नु नपरोस्, न्यूनीकरण हुँदै जाओस् भन्ने उद्देश्यका लागि कान्तिपुरले यो पहल गरेको हो,’ डिसीले भने।











