सभापति देउवाका गलत कामको भण्डाफोर सशक्त बनाउँछाैं: पाैडेल समूह
काठमाडाैं, साउन १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गरेका गलत कामको सशक्त भण्डाफोर गर्ने बताएको छ।....

काठमाडाैं, साउन १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गरेका गलत कामको सशक्त भण्डाफोर गर्ने बताएको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरी पाैडेल समूहले सभापति देउवाको गलत कामविरुद्ध १४ औँ महाधिवेशनसम्म दबाब बढाउँदै लैजाने बताएको हो।
“हामी यो मुद्दा महाधिवेशनसम्म लैजान्छौं,” पत्रकार सम्मेलनमा पाैडेलले भने, “सभापति देउवाले जति गल्ती गर्दै जान्छन्। हामी त्यतिनै सशक्त दबाब बढाउँदै जान्छौं।'' पाैडेल समूहले देउवाले एकलाैटी विधान विपरीत विभाग गठन र विभागमा सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टि पनि जनाएको छ।
देउवाको निर्णयबाट पार्टीमा क्रियाशील इमान्दार कार्यकर्ताको मनोबल गिरेको उनीहरुको आरोप छ। “पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरुको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन,'' पौडेल समूहले सभापति देउवालाई लेखेको पत्रमा उल्लेख छ।
कार्यक्रममा पौडेलले १४ औँ महाधिवेशनपछि कांग्रेसका कुनै गुट नहुने दाबी गरे। पौडेलले अनुशासन समितिले नेताहरूलाई गरेका कारबाहीप्रति आपत्ति जनाएका छन्। अनुशासन समितिले प्रतिशोधका आधारमा नेताहरुमाथि कारबाही गरेको उनको आरोप छ। पौडेलले कैलालीका पुष्कारनाथ ओझामाथि पाँच वर्ष पार्टी सदस्यतासमेत नरहने गरी गत शनिबार अनुशासन समितिले गरेको कारबाहीको विरोध गरेका हुन्।
ओझामाथि कैलालीमा नेतृ आरजु राणा देउवामाथि चुनाव हराउन भूमिका खेलेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो। ‘ओझालाई स्पष्ट आधार र कारणबिना बागी उम्मेदवारसँग जोडेर विधानको दफा ३५ बमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन कारबाही गर्नुमा अनुशासन समितिको नियत के हो प्रष्ट छ,' पौडेलले भनेका छन्।
अनुशासन समितिले ओझालाई मात्रै नभई पौडेलविरूद्ध तनहुँमा उम्मेदवारी दिएका गोविन्दराज जोशीलाई पनि कांग्रेसले ५ वर्षका लागि कारबाही गरेको छ। यद्यपी आफ्ना पक्षधरका नेता ओझामाथि गरिएको कारबाहीप्रति भने पौडेलले आपत्ति जनाउँदै आएका छन्।











