बाढीपहिरोबाट गत २४ घन्टामा ११ को मृत्यु, ६ बेपत्ता
काठमाडौं, साउन १५ : बाढी र पहिरोबाट गत २४ घन्टामा देशभर ११ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण त....

काठमाडौं, साउन १५ : बाढी र पहिरोबाट गत २४ घन्टामा देशभर ११ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत २४ घन्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको छ भने १० स्थानमा बाढीले विस्थापित बनाएको छ। जसले गर्दा ११ को मृत्यु भएको छ। त्यस्तै, ६ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।
केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ। कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।
नरहरिनाथ–७ स्थित घरमा पहिलो खस्दा अन्य सातले ज्यान गुमाएका र महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले जनाएको छ।
कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताए। उनका अनुसार उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि मौसम बिग्रेकाले सफल हुनसकेको छैन।
बाजुराको बूढीगङ्गा नगरपालिका–१ अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन्। कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ।
मौसमविद् प्रतिभा मानन्धरले मनसुन न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिनदेखि मनसुन सक्रिय रहेको र बढी पश्चिम क्षेत्रमा पानी परेको बताइन्। यसअघि न्यूनचापीय रेखा नेपालको नजिक थियो। अहिले पूर्वी क्षेत्र नजिक छ। यसअघि पश्चिम क्षेत्रमा बढी मनसुन सक्रिय हुँदा केही ठाउँमा भारी वर्षा भएको छ।
आज धनगढीमा १९८ मिलीमिटर वर्षा मापन गरिएको छ। विराटनगरमा ३३ दशमलव आठ, ताप्लेजुङमा १९ र सिमरामा १७ मिलीमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ।
आज भने न्यूनचापीय रेखा नेपालको पूर्व नजिक रहेकाले मनसुन पूर्व र मध्य भागमा बढी सक्रिय हुने देखिएको मौसमविद् मानन्धरले बताइन्। धेरैजसो स्थानमा मौसम बदली भए पनि भारी वर्षा भने एक÷दुई स्थानमा मात्रै हुने सम्भावना रहेको छ।
प्रदेश नं १, २, वाग्मती, गण्डकी प्रदेशका केही क्षेत्रमा आज बढी पानी पर्ने बताइएको छ। शुक्रबार भने प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा बढी मनसुन सक्रिय हुने जनाइएको छ। अन्य प्रदेशमा पनि मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। (रासस)











