Kathmandu Press

कैलालीमा बाढी र डुबान, दुई हजार परिवार विस्थापित

टीकापुर, साउन १५ : अविरल वर्षाले कैलालीका दर्जनौं गाउँ बाढीले डुबानमा परेका छन्। जिल्लाको पूर्वि क्षेत्रका दुई हजार दुई सयभन्दा बढी परिवार विस्थपित भए....

कैलालीमा बाढी र डुबान, दुई हजार परिवार विस्थापित
रासस

टीकापुर, साउन १५ : अविरल वर्षाले कैलालीका दर्जनौं गाउँ बाढीले डुबानमा परेका छन्। जिल्लाको पूर्वि क्षेत्रका दुई हजार दुई सयभन्दा बढी परिवार विस्थपित भएका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार भजन र टीकापुरका हजारौं परिवार डुबानमा परेका छन्। पानीको निकास नहुँदा भजनी र टीकापुर नगरपालिकाका वासिन्दा डुबानमा परेका हुन्।

भजन नगरपालिका मेयर शेरबहादुर चौधरीका अनुसार, डुबानले दुई हजार दुई सय परिवार विस्थापित भएका छन्। करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको मेयर चौधरीले बताए। ‘विस्थापित परिवार उच्च स्थान र हुलाकी राजमार्ग बसिरहेका छन्,’ मेयर चौधरीले भने, ‘हजारौं गाई, भैँसी पनि सकडमै छन्।’

भजनी क्षेत्रमा डुबानमा परेको सर्वसाधारणको उद्धारका लाग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधि खटिएका छन्। सबै मिलेर बिहानैदेखि उद्धारमा जुटेको मेयर चौधरीले बताए। ‘सुरक्षित स्थानमा नअटेकालाई सडकमै राखिएको छ, उनीहरु त्रिपालमा बसेका छन्, वर्षा निरन्तर भइरहेकाले रात गुजार्न कठिन हुने भएका छ,’ उनले भने।

भजनी नगरपालिकाको वडा नम्बर ८ पूरै विस्थापित भएको छ। त्यस्तै, वडा नं. २ र ३ मा पनि अधिकांश घर डुबानमा परेका छन्।

विस्थापित परिवारलाई खाना, त्रिपाल र पानीको जोहो गर्न समस्या भइरहेको मेयर चौधरीले बताए। ‘सबै क्षेत्रबाट सहयोग भइरहेको छ, रेडक्रसकर्मीलगायत स्थानीय राहत तथा उद्धारमा खटेका छन्’ उनले भने, ‘धेरैजसो परिवार आफन्तकामा पनि बसेका छन्।’

मङ्गलबार रातिदेखि आएको अविरल वर्षापछि कैलालीको मध्यवर्ती क्षेत्रका सबै स्थानीय तह डुबानमा परेका हुन्। कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका र जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका डुबानमा परेका छन्।

टीकापुरमा एक हजार एक सय ३२ नागरिकलाई उच्च स्थानमा सारिएको नगरपालिकाले जनाएको छ। पथरैया नदी बस्तीमा पसेपछि टीकापुरका वडा नं ६, ७ र ९ का तीन सय ९० परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको छ। विस्थापित परिवारलाई नगरपालिकाले निर्माण गरेका उच्च घर र विद्यालयमा राखिएको मेयर तपेन्द्रबहादुर रावलले बताए। वर्षा जारी रहेकाले क्षतिको विवरण सङ्कलन गर्न नसकिएको उनले बताए।

टीकापुरमा बाढीका कारण बजार क्षेत्रमा व्यापारीको ठूलो क्षति भएको छ। बजार क्षेत्रमा किराना पसल, पुस्तक पसल, कुटानीपिसानी मिल तथा गल्ला मण्डीमा लाखौंको क्षति भएको व्यापारीले बताएका छन्।

यसैगरि जानकी गाउँपालिका वडा नं १ र ७ का ४१ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ। वर्षाका कारण डुबानमा परेका परिवारलाई समयमै उद्धार गरिएकोले मानवीय क्षतिबाट जोगिएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए।

कन्द्रा, काँढा र पथरैया नदी सतहभन्दामाथि पुगेपछि जोशीपुर गाउँपालिकाका सबै वडामा डुबानमा परेका छन्। जोशिपुर गाउँपालिकामा पनि एक सयभन्दा बढी परिवार विस्थापित भएका वडा नंं १ का वडाध्यक्ष विधिराम चौधरीले बताए।


   

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्