हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखियो : मणि थापा
काठमाडौं, साउन १४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षम....

काठमाडौं, साउन १४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले भने,‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आइपुगेको छ। अब यही कोर्समा पार्टी अघि बढ्छु।’ थापाले आफू कुनै पनि गुटमा नभएको जिकिर गरे। उनले भने,‘म एकताको पक्षमा छु। म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु। अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु।’
उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट-फुट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको दाबी गरे। थापाले हिजोको बैठकमा आफू अनुपस्थित भएको पनि बताए। उनले भने,‘दुई अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गइनँ। तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङबारेमा मेरो विरोध छैन।’
हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको पनि उनले जानकारी दिए। उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ।’
वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ। उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको बताए।











