Kathmandu Press

पहिरोले सडक अवरुद्ध, कारागार समेत जोखिममा 

काठमाडौं, साउन १४ : लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३....

पहिरोले सडक अवरुद्ध, कारागार समेत जोखिममा 
फाइल

काठमाडौं, साउन १४ : लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध  भएको  उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए। 

उत्तरदक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको इन्जिनीयर श्रेष्ठले बताउनुभयो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको उनले बताए । लगातार वर्षा भइरहेका कारण अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने यकिन हुन नसकेको उनले बताए । 

विभिन्न स्थानमा पहिरो

सङ्खुवासभामा पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।  लगातार परेको वर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठामा एक घर पुरिँदा एक जना गम्भीर घाइते भएका छन् । सोमबार राति ३ बजे घर माथिबाट खसेको पहिरोले घर पुरिँदा खाँदबारी–६ का शान्तिबहादुर खत्री घाइते भएका हुन् । उनलाई स्थानीयवासीले उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याएको खाँदबारी–६ का वडाध्यक्ष दयानिधि बरालले जानकारी दिए।

अविरल वर्षाले खाँदबारी–९ मा रहेको तुम्लिङटार बजारसमेत डुबानमा परेको छ । तुम्लिङटार बजार क्षेत्रका घरमा माटो र ढुङ्गाले बनेका तीन कच्ची घर भत्किएका छन् । पानीले जलमग्न भएको तुम्लिङटारमा विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र सम्सेर मगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी  दिए । पहिरोले ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

पहिरोका कारण जिल्ला कारागारसमेत जोखिम परेको छ । पहिरोले चारैतिर तान्न थालेपछि पहिरोको उच्च जोखिममा परेको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए । जिल्ला कारागारमा अहिले १२४ कैदीबन्दी छन् । (रासस) 

प्रकाशित मिति: ०७:५३ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्