कांग्रेस प्रवेश गर्दै सुनिल थापाले भने- म भाग खोस्न आएको होइन, साथमा अघि बढ्न आएको हुँ
काठमाडौं, साउन १३ : राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापाले आफु लोकतन्त्र बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताएका छन्....

काठमाडौं, साउन १३ : राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापाले आफु लोकतन्त्र बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताएका छन्।
मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले कांग्रेस प्रवेश गर्नु आफ्ना लागि सौभाग्यको कुरा रहेको बताएका हुन्। उनले आफू कांग्रेस नेताहरुको भाग खोस्न पार्टी प्रवेश नगरेको बताए।
‘म भाग खोस्न आएको होइन, साथमा अघि बढ्न आएको हो,’ उनले भने। थापाले आफ्ना पिता सूर्यबहादुर थापा २०१० सालमा धनकुटा कांग्रेसको सभापति भएको स्मरण गर्दै ६७ वर्षपछि कांग्रेससँग नाता जोड्न पाउँदा खुसी लागेको बताए। ‘६७ वर्ष अघि टुटेको नाता पुनः जोडिएको छ। यो नाता राम्रोसँग जोडिने विश्वास लिएको छु,’ उनले भने।
उनले देशभरका राप्रपाका कार्यकर्तालाई कांग्रेस प्रवेश गर्न आग्रह समेत गरेका छन्।











