Kathmandu Press

नाकामा संकलित स्वाबको रिपोर्ट नआउँदै उपत्यका प्रवेश

काठमाडौं, साउन १३ : लकडाउन खुलेसँगै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढेपछि नाकामा कोरोना परीक्षणको लागि स्वाब गरिएको छ। तर संकलित स्वाबको रिपोर्ट नआ....

नाकामा संकलित स्वाबको रिपोर्ट नआउँदै उपत्यका प्रवेश

काठमाडौं, साउन १३ : लकडाउन खुलेसँगै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढेपछि नाकामा कोरोना परीक्षणको लागि स्वाब गरिएको छ। तर संकलित स्वाबको रिपोर्ट नआउँदै उनीहरुलाई उपत्यका प्रवेश गराइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्र्ने नाकामै स्वाब संकलन गरेपनि कोरोना परीक्षणको रिपोर्ट नआई प्रवेश दिइरहेको साँगा चेकपोस्टका प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत बताउँछन्। संक्रमितको पहिचान गर्न नाकामै स्वाब संकलन गरेपनि तीनदिनसम्म रिपोर्ट नआएको उनले बताए। 

साउन ११ गते देखि विभिन्न जिल्लाबाट साँगा हुँदै उपत्यका भित्र्ने यातायातमा सवारी यात्रु, चालक तथा सहचालकको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ।

‘उपत्यका भित्रने सबै चारपाँग्रे सवारीका चालक, सहचालक र यात्रुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिरहेका छौँ,’ उनले काठमाडौं प्रेससँग भने ‘तर हालसम्म संकलन भएका मध्ये कसैको पनि रिपोर्ट आएको छैन। तर पनि उपत्यका भने भित्रिसकेका छन्।’

साँगाबाट मात्रै आइतबार ६२, सोमबार चार सय ३२ जना र मंगलबार दिउँसो सम्म दुई सय जनाको स्वाब संकलन भएको छ। स्वाब संकलनका लागि काठमाडौं, भक्तपुर र काभ्रेका दुई–दुई जना गरी ६ चिकित्सक साँगा नाकामा खटिएका छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ता संकलित स्वाबहरुको परीक्षण भइरहेको बताउँछन्। ‘साँगाबाट ल्याइएका सबै स्वाबहरुको परीक्षण भइरहेको छ,’ उनले भने ‘मंगलबार बेलुकी ६ बजेसम्ममा सबैको रिपोर्ट आउँछ।’

बिहान ८ देखि बेलुकी ७ बजेसम्ममा साँगाबाट दैनिक ८ सय जना भित्रिने बस्नेतको भनाई छ। तर स्वाब संकलन गरी रिपोर्ट नआउँदा नै मानिस उपत्यका भित्र्याउँदा उपत्यकामा कोरोना संक्रमणले भयावह रुपमा लिन सक्ने उनी बताउँछन्।

प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, साउन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्