स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ-विवेक नगुमाऔं, संवादका लागि पहल गरौं
काठमाडाैं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यलाई विवेक नगुमाउन आग्रह गरेका छन्।
<....
काठमाडाैं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यलाई विवेक नगुमाउन आग्रह गरेका छन्।
पार्टीलाई विभाजनको दुर्घटनाबाट जोगाउन सघन छलफल जरुरी रहेको प्रष्ट पार्दै उनले उत्तेजनामा आएर विभाजनको बाटोमा पार्टीलाई धकेल्न नहुने मत राखेका हुन्।
बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले पार्टी एकतालाई आघात पुर्याउन काम गर्न नहुने बताएको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले जानकारी दिए। 'उत्तेजनामा विवेक गुमाएर एकतामा आघात पुग्ने काम नगरौँ, संवादलाई सघन बनाउने प्रयास जारी राखौँ,' प्रचण्डको भनाइ उद्धृत गर्दै विष्टले काठमाडौं प्रेससँग भने।
यस्तै, उनले आजको यो बैठकलाई बहुमत स्थायी कमिटी सदस्यको बैठक भन्नुपर्ने धारणा राखेका थिए।
बैठकमा प्रचण्डले अध्यक्ष ओलीसँग भएको छलफलबारे पनि सदस्यहरुलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीसँगको भेटमा स्थायी कमिटी बैठक एकलौटी रुपमा स्थगित गर्नुको कारण माग गरेको जानकारी प्रचण्डले बैठकमा गराएका थिए।
भेटमा प्रधानमन्त्रीले सचिवालयमा सहमति जुटाएर स्थायी कमिटी बैठक राख्नुपर्ने मत जाहेर गरेको प्रचण्डको भनाइ थियो। भेटमा अध्यक्ष ओलीले आफ्ना पक्षधरका सदस्यहरुसँगको भेटलाई औपचारिक बैठकका रुपमा व्याख्या नगर्न प्रचण्डलाई भनेका थिए।
'अध्यक्ष ओलीले तपाईंहरु छलफल गर्नुस् तर यसलाई स्थायी कमिटीको औपचारिक बैठकको रुपमा व्याख्या नगर्नुस्,' प्रचण्डले प्रधानमन्त्रीको भनाइबारे बैठकमा बताए।
अध्यक्ष ओलीले महासचिव विष्णु पौडेललाई पत्र लेख्न लगाएर एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्ड-नेपाल समूह ओलीसँग रुष्ट छ। उनीहरुले मंगलबार आफ्ना पक्षका स्थायी कमिटी सदस्यको बैठक बालुवाटारमा केहीबेर राखेका थिए।











