Kathmandu Press

कालापानीदेखि लिम्पियाधुरासम्मको भू-भाग दाबी गर्दै भारतको नेपाललाई पत्र, नेपालीलाई प्रवेश निषेध 

काठमाडौं, साउन १२ : भारतले कालापानीदेखि लिम्पियाधुरासम्मको भू-भाग दाबी गर्दै नेपाललाई पत्र लेखेको छ। 

भारतको धार्चुला प्रशासनले जिल्ला ....

कालापानीदेखि लिम्पियाधुरासम्मको भू-भाग दाबी गर्दै भारतको नेपाललाई पत्र, नेपालीलाई प्रवेश निषेध 
फाइल

काठमाडौं, साउन १२ : भारतले कालापानीदेखि लिम्पियाधुरासम्मको भू-भाग दाबी गर्दै नेपाललाई पत्र लेखेको छ। 

भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर कालापानीदेखि लिम्पियाधुरासम्म आफ्नो भूमि भएको दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन आग्रह गरेको छ। 

दार्चुलाका सहयक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई लेखेको पत्रमा नेपालीले अवैधरुपमा सीमा पार गरेर भारत प्रवेश गरेको भन्दै ध्यानाकर्षण गराइएको छ।

'विभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यानाकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला,’ पत्रमा भनिएको छ।  

यस्तै, पत्रमा लिम्पियाधुरासम्मको जमिन भारतको भएको दाबी गर्दै त्यहाँ नेपालीहरूको सम्भावित घुसपैठबारे सूचना दिन आग्रह गरेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला कुँवरले भने कालापानी, लिम्पियाधुरातिर कोही पनि नेपाली नगएको बताए।

'कालापानी, लिम्पियाधुरा क्षेत्रमा कोही पनि गएका छैनन्। नेपालतिर सडक बनिरहेका छन् हेलिकप्टरमा सामान ढुवानी भइरहेको छ। त्यही देखेर भारतले शंका गरेको हुन सक्छ,' उनले काठमाडौंप्रेससँग भने। कुँवरका अनुसार धार्चुला प्रशासनलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले मौखिक जवाफ पठाएको छ। कालापानी, लिम्पियाधुरा क्षेत्रमा कोही पनि नेपाली नगएको मौखिक जवाफ दिइएको उनले बताए।

नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपछि उक्त क्षेत्रमा सीमा विवाद चर्किएको छ। भारतले उक्त भूमि आफ्नो भन्दै दाबी गर्दै आएको छ। सरकारले हालै कालापानी नजिक दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापनासमेत गरेको छ। साथै, हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम पनि भइरहेको छ।

 
 

प्रकाशित मिति: १९:३१ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्