Kathmandu Press

के हो विश्वकप सुपर लिग, कसरी प्राप्त हुन्छ अंक ?

काठमाडौं, साउन १२ : एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमा रहेको विश्वकप सुपर लिग जुलाई ३० बाट सुरु हुँदै छ।

अन्तर्राष्ट्रिय क्रिकेट प....

के हो विश्वकप सुपर लिग, कसरी प्राप्त हुन्छ अंक ?

काठमाडौं, साउन १२ : एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमा रहेको विश्वकप सुपर लिग जुलाई ३० बाट सुरु हुँदै छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार १३ राष्ट्र सहभागी हुने सुपर लिग इंग्ल्याल्ड र आयरल्याण्डबीचको एकदिवसीय सिरिजसँगै सुरु हुने बताएको छ। आईसीसीले अन्य सिरिजको तालिका भने पछि सार्वजनिक गरिने बताएको छ।

सुपर लिगमा टेष्ट राष्ट्रहरू भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान, आयरल्याण्ड र जिम्बाबे छन्। यस्तै, नेदरल्यान्ड्सले सन् २०१५–२०१७ को विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेताका रुपमा सुपर लिगमा मौका पाएको छ। 

के हो सुपर लिग ?

सुपर लिग एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता हो। आईसीसीले सुपर लिग यसै पटकबाट सुरु गरेको हो।

आईसीसीले एकदिवसीय क्रिकेटको महत्व बढाउने उद्देश्यले सुरु गरेको सुपर लिगमा १३ राष्ट्रको सहभागिता रहनेछ। जसमध्ये शीर्ष ७ टिम र आयोजक भारतले सन् २०२३ को विश्वकपमा स्थान बनाउने छन्। 

आईसीसीका सञ्चालक महाप्रबन्धक जोएफ अलार्डिसले सुपर लिगले आगामी तीन वर्ष एक दिवसीय क्रिकेटलाई अझ सार्थक बनाउने बताएका छन्। 

कस्तो हुन्छ फर्म्याट ?

सुपर लिगमा प्रत्येक टिमले ८ टिमसँग ८ सिरिज खेल्ने छन्। जसमा चार होम र चार अवे सिरिज हुने छ। प्रत्येक सिरिजमा तीन खेल हुनेछ। प्रत्येक टिमले सुपर लिगका चार टिमसँग भने सिरिज खेल्नु पर्ने छैन। सुपर लिगका शीर्ष ७ र आयोजक भारत सिधै विश्वकपमा छानिने छन्।

सुपर लिगका पुछारका बाँकी पाँच टिम र विश्वकप लिग–२ का तीन र प्लेअफबाट आएका दुई गरी १० टिमबीच पुनः छनोट प्रतियोगिता हुनेछ। यसबाट दुई टिमले पुनः विश्वकपमा स्थान बनाउने छन्। यसरी सुपर लिगबाट छनोट भएका ८ र छनोटबाट आएका दुई टिम गरी १० टिमले विश्वकप खेल्ने छन्।

कुन टिमले को-कोसँग खेल्दैनन्?

अफगानिस्तान  : इंग्ल्यान्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इन्डिज।
अष्ट्रेलिया : बंगलादेश, आयरल्याण्ड, नेदरल्यान्ड्स र श्रीलंका।
बंगलादेश : अष्ट्रेलिया, भारत, नेदरल्यान्ड्स र पाकिस्तान।
इंग्ल्यान्ड : अफगानिसतान, न्यूजिल्याण्ड, वेष्ट इन्डिज र जिम्बाबे।
भारत : बंगलादेश, आयरल्याण्ड, नेदरल्यान्ड्स र पाकिस्तान।
आयरल्याण्ड : अष्ट्रेलिया, भारत, पाकिस्तान र श्रीलंका।
नेदरल्यान्ड्स : अष्ट्रेलिया, बंगलादेश, भारत र श्रीलंका।
न्यूजिल्याण्ड : अफगानिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र जिम्बाबे।
पाकिस्तान : बंगलादेश, भारत, आयरल्याण्ड र श्रीलंका।
दक्षिण अफ्रिका : अफगानिस्तान, न्यूजिल्याण्ड, वेष्ट इन्डिज र जिम्बाबे।
श्रीलंका : अष्ट्रेलिया, आयरल्याण्ड, नेदरल्यान्ड्स र पाकिस्तान।
वेष्ट इन्डिज : अफगानिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका  र जिम्बाबे।
जिम्बाबे : इंग्ल्यान्ड, न्यूनिल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इन्डिज।

कसरी प्राप्त हुन्छ अकं?

प्रत्येक टिमले जित बापत १० अंक प्राप्त गर्नेछन् भने खेल बराबरी, अनिर्णित वा रद्द भएमा प्रत्येक टिमले ५ अंक प्राप्त गर्ने छन्। आठ सिरिज सकिएपछि प्राप्त अंकका आधारमा र्‍याकिङ निर्धारण गरिने छ। 

सुपर लिग मे १४ बाटै सुरु हुने कार्यक्रम थियो। तर, कोरोनाका कारण त्यो सम्भव भएन। कोरोनाका कारण सुपर लिगका ६ सिरिज स्थागित भएका छन्। कोरोनाका कारण आयरल्याण्ड र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका, आयरल्याण्ड र न्यूजिल्याण्ड, श्रीलंका र भारत, नेदरल्यान्ड्स र पाकिस्तान तथा वेष्ट इन्डिज र न्यूजिल्याण्डबीचको सिरिज रद्द भएको छ। यी सिरिज पुनः गराउने या सबै टिमलाई अंक दिन भन्ने विषयमा पछि निर्णय गरिने बताइएको छ। 

सुपर लिग लड्सबाट सुरु हुने 

सुपर लिग ऐतिहासिक लड्स मैदानबाट सुरु हुँदैछ। लड्समा जुलाई ३० मा हुने खेलमा विश्व च्याम्पियन इंग्ल्यान्ड र आयरल्याण्ड भिड्ने छन्।

लड्स मैदानबाट सुपर लिगको सुरुवात गर्न पाउँदा आफूहरु उत्साहित रहेको इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले बताएका छन्। उनले भने, ‘अघिल्लो वर्ष हामीले लड्र्समै पहिलो पटक विश्वकप ट्रफी उचालेका थियौं। तर, यो फरक प्रतियोगिता हो, हामी सुपर लिगमा राम्रो सुरुवात गर्न चाहन्छौं।’

यता, आयरल्याण्डका कप्तान एन्ड्रयु बालबिर्नीले सुपरलिगको सुरुवाती खेलमा इंग्ल्यान्डलाई कडा चुनौती दिने बताए।

‘एक वर्षअघि मात्र विश्व च्याम्पियन बनेको इंग्ल्यान्डविरुद्ध ठूलो चुनौती हुन्छ। हामीले राम्रो तयारी गरेका छौं, सन् २०२० को सुरुवातमा राम्रो प्रदर्शन गरेको टिम आत्मविश्वासी छ। त्यसैले इंग्ल्यान्डलाई कडा चुनौती दिनेछौं।’

-एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्