प्रचण्ड र नेपाल पक्षका नेताको खुमलटारमा भेला
काठमाडौं, साउन १२ : भोलि बस्ने नेकपा स्थायी कमिटी बैठकको तयारीका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु छलफ....

काठमाडौं, साउन १२ : भोलि बस्ने नेकपा स्थायी कमिटी बैठकको तयारीका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्।
सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका छन्। खुमलाटरमा प्रचण्ड र नेपाल पक्षका नेताहरुको छलफल जारी रहेको जनाएको छ।
खुमलाटारमा जारी छलफलमा नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल, प्रवक्ता नारायणकाजी र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्। त्यस्तै, केही स्थायी कमिटी सदस्यहरु पनि सहभागी रहेको खुमलटार स्रोतले जनाएको छ।
नेकपा स्थायी कमिटी बैठक भोलि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको तयारीका लागि खुमलटारमा भेला भएको जनाएको छ।
नेकपा स्थायी कमिटी बैठक असार १० गते सुरु भएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयाले विवाद उत्पन्न हुँदा स्थगित हुँदै आएको छ। असार १८ गतेदेखि नियमित रुपमा स्थगित हुँदै आएको बैठक मंगलबार बोलाइएको हो।
प्रचण्ड र नेपाल पक्षका स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्। यहि विवादले नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन।











