मनसुन सुरु भएयता बाढीपहिरोबाट गण्डकीमा ७८ को मृत्यु, ८ बेपत्ता
पोखरा, साउन १२ : मनसुन सुरु भएयता गण्डकी प्रदेशमा बाढीपहिरोबाट ७८ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयका ....

पोखरा, साउन १२ : मनसुन सुरु भएयता गण्डकी प्रदेशमा बाढीपहिरोबाट ७८ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार मनसुन सुरु भएयता प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएको हो। बाढी र पहिरोमा परी ६८ जना घाइते भएका छन्। गण्डकी प्रदेशका ११ जिल्लामध्ये बाढी र पहिरोबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्।
म्याग्दीमा ३१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। त्यस्तै, तनहुँमा ११ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता रहेका छन्। मृत्यु हुनेमा आठ महिला र तीन पुरुष छन्। कास्कीमा बाढी र पहिरोबाट १० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए। उनका अनुसार लमजुङमा चार र स्याङ्जामा पाँच जनाको मृत्यु भएको छ।
यसैगरी, बाढी र पहिरोबाट गोरखामा दुई जनाको मृत्यु भएको छ। एक जना बेपत्ता रहेका छन्। पर्वतमा नौं, नवलपरासी पूर्वमा दुई र बागलुङमा दुई जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता रहेका छन्। हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए।
बाढी र पहिराबोट कास्कीमा १२, लमजुङमा २३, म्याग्दीमा १३, स्याङ्जामा १०, तनहुँमा सात, पर्वतमा एक र बागलुङमा दुई जना घाइते भएका छन्। बाढी र पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको छ। केही ठाउँमा आज पनि वर्षा भइरहेको छ।











