कोरोना जित्न आत्मबल चाहिने रहेछ : नेता जीवनबहादुर शाही
काठमाडौं, साउन ७ : कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कोरोनामुक्त भएका छन्। शाहीको मंगलबार गरिए....

काठमाडौं, साउन ७ : कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कोरोनामुक्त भएका छन्। शाहीको मंगलबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनी आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए। 'उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,'निर्देशक डा खड्काले भने,'अब उहाँ सामान्य जीवनमा जान सक्नुहुन्छ।'
नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफूले सामान्य बनाएको बताए। मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको अनुभूति उनले प्रकट गरे। यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उनको सुझाव थियो। 'मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,' उनले भने,'मायाममताको बढी खाँचो पनि हुँदो रहेछ।' कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले, 'आत्मबल कमजोर नै बनाइएन। घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो। रोग त आफैँ च्वाट भयो।'
नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे।




-1792226847.jpeg)





-1792226847.jpeg)
