तिब्बतको केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्काल टर्यो
सिन्धुपाल्चोक, साउन ६ : तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा तत्कालको लागि टरेको छ। खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनु....

सिन्धुपाल्चोक, साउन ६ : तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा तत्कालको लागि टरेको छ। खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
ताल फुट्ने खतरा नरहेपनि लगातार परेको वर्षातको कारण नदीमा पानीको बहाव बढेको भन्दै नदी आसपास क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई प्रशासनले सुरक्षित रहन आग्रह गरेको छ।
सुनकोशी र भोटेकोशी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो। तातोपानी नाकाबाट करिब ४५ किमि टाढा तिब्बतको कुतीबजारबाट सो तालको पानी भोटेकोशीमै मिसिने भएकाले खतरा हुनसक्ने अनुमान स्थानीय प्रशासनको छ।
खासाबाट पश्चिमतर्फ रहेको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो।
दूधपोखरीको नामले चिनिने कराइ आकारको सो ताल भरिएकाले त्यसको जमेको पानी पोखिएर फुट्न सक्ने शंका गरिएको हो। प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई सोमबार साँझ खबर गरेको थियो।
तातोपानीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ। ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोशी, भोटेकोशी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्लामा समेत पर्नेछ तर त्यहाँबाट पानीको बहाव तल आउञ्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतकिंत नभई सचेत रहन मात्र आह्वान गरेका छौं, ढकालले भने।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सुरक्षा निकायको बैठकले अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहे पनि निरन्तर वर्षा भइरहेका कारण खोला किनारका बासिन्दा भने सचेत रहनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।
'ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होइन, सीमाका चिनियाँलाई समेत खासा लगेकाले खतरा देखियो।'
सूचनातर्फ माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको थियो। विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो। त्यति बेला झण्डै १५० घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो।











