Kathmandu Press

वार्षिक कामको समिक्षामा महानगर

काठमाडौं, साउन ६ : काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गरेका छन्....

वार्षिक कामको समिक्षामा महानगर

काठमाडौं, साउन ६ : काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गरेका छन्।

आर्थिक वर्ष २०७६–०७७ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन्।  ‘वार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ उनले भने, ‘महानगरवासी, कर्मचारी र जनप्रतिनिधिबीच आत्मीय सम्बन्ध विकास गर्दै  र समन्वयलाई प्रभावकारी बनाउँदै परिणाममापन हुने गरी काम गरौं।’ 

उनले महानगरपालिकाका कर्मचारीहरुसँग अन्य स्थानीय तह सञ्चालनका बिषयमा विभिन्न स्थानीय तहमा गएर प्रशिक्षण चलाउन सक्ने क्षमता भएको भन्दै त्यो क्षमता आफ्नै कार्यालयमा पनि देखाउन सुझाव दिए।  ‘यहाँका अधिकांश कर्मचारी क्षमतावान हुनुहुन्छ। त्यसैले महानगरको समृद्धिका लागि त्यो क्षमताको उपयोग गरौं,’ प्रमुख शाक्यले भने,  ‘मलाई नीति चित्त बुझेन, कार्यक्रम चित्त बुझेन, म यो काम गर्दिन भन्ने छुट कर्मचारीलाई हुँँदैन। सार्वजनिक सेवा प्रवाह गर्दा सहज र सर्वसुलभ ढंगले प्रवाह गर्नुहोला।’ 

उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिइन्। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वृत्ति विकास, पदोन्नतिजस्ता बिषयमा निराशा देखाएर कर्मचारीले बजेट, नीति तथा कार्यक्रमको लक्ष्य अधुरो बनाउने कुराले सकारात्मक परिणाम नदिने बताए। उनले कोभिड–१९ का कारण केही महिना काममा अवरोध भएको भन्दै त्यसअघिका परिणाम के थिए ? कार्यक्रम सञ्चालन गर्दा, कसले कति लाभ पाए ? त्यसको पनि लेखाजोखा हुनुपर्नेमा जोड दिए।  

समिक्षा कार्यक्रममा प्रस्तुतिकरण गर्दै स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्राबिधिक क्षेत्रका जनशक्ति कम हुनु, महामारी आउनुजस्ता कारण देखाइएको थियो।  महालेखा परीक्षकको कार्यालयले देखाएको वित्तीय अनुशासन कायम गराउन थप तत्परता देखाउनु पर्ने जस्ता विषय पनि समिक्षामा उठेका थिए।

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्