Kathmandu Press

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी पहिरो

चितवन, साउन ६ : पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल ....

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी पहिरो

चितवन, साउन ६ : पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ।

यो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ। “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन्। सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ,” उनले भने।

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए। यसका लागि नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्नेछ।

बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए। स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग छलफल गरी काम अघि बढाइने उनले बताए।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सडक खुलाउन दुई दिन लाग्ने बताए। “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन लाग्छ,” उनले भने। अहिले वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ। यो पहिरो पन्छाउन कम्तिमा चार घन्टा लाग्ने उनको भनाइ छ।

चार किलोमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो। चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनले बताए। मौसम अनुकूल भएमा आज सञ्चालनमा आउन सक्ने उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन्। (रासस)

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्